योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश गर्ने : प्रधानमन्त्री

६ असार २०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग र ध्यानको विषय पाठ्यक्रममा समावेश गर्ने उद्देश्य सरकारले राखेको बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो उद्देश्य राखेको जानकारी गराए ।
प्रधानमन्त्री प्रचण्डले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्ने उद्देश्य रहेको उनले बताए । साथै नेपाल सरकारको यो निर्णयले योग आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्ने पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले योग नेपालको अमूल्य सम्पत्ति भएको समेत बताए । ‘यहाँका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको देखिन्छ । मठ, मन्दिर, मूर्तिकलामा होस् वा चित्रकला, थांका होस् वा सबैतिर योगको जबरजस्त प्रभाव देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ढुंगेधारा, कुवा, इनार र राजकुलाका निर्माणमा पनि योग र तन्त्रको ज्ञानलाई प्रयोग गरेको हामी सबैले देख्न सक्दछौँ । त्यसैले योग नेपालकै अमूल्य सम्पत्ति पनि हो ।’

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *